(१) ऐनको दफा १० को उपदफा (१) बमोजिम पुनरावेदन दिने व्यक्तिले
अनुसूची बमोजिमको ढाँचामा आयोग समक्ष पुनरावेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुनरावेदन गर्दा सम्बन्धित व्यक्तिले चाहेमा आफैं
उपस्थित भई वा सम्बन्धित सार्वजनिक निकाय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा
कुनै हुलाक मार्फत पुनरावेदन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै ब्यक्तिले सार्वजनिक निकाय वा जिल्ला प्रशासन
कार्यालय मार्फत पुनरावेदन दिएकोमा त्यस्तो कार्यालयले पुनरावेदन दिने व्यक्तिलाई बुझेको
भर्पाइ दिई सो पुनरावेदन तीन दिनभित्र आयोगमा पठाई दिनु पर्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम प्राप्त भएको पुनरावेदन जाँचबुझ गर्दा ऐनको
म्यादभित्र परेको देखिएमा सचिवले त्यस्तो पुनरावेदन दर्ता गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम जाँचबुझ गर्दा प्राप्त पुनरावेदन ऐनको म्याद नाघी
बुझाएको देखिएमा सचिवले सोही व्यहोरा जनाई पुनरावेदन दरपीठ गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम पुनरावेदन दरपीठ गरेको जानकारी सचिवले आयोग र
सम्बन्धित पुनरावेदनलाई दिनु पर्नेछ ।
५क. उजूरी दिन सक्ने :- (१) सूचना अधिकारीले सूचना माग गर्ने व्यक्तिको सूचना मागको निवेदन
दर्ता नगरेको, माग गरे बमोजिमको सूचना नदिएको वा गलत सूचना दिएको विषयमा चित्त
नबुझ्ने व्यक्तिले सात दिनभित्र प्रमुख समक्ष उजूरी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको उजूरी जाँचबुझ गर्दा सूचना अधिकारीले
सूचना मागको निवेदन दर्ता नगरेको, माग गरे बमोजिम सूचना नदिएको वा गलत सूचना
दिएको देखिएमा प्रमुखले निवेदकद्वारा माग भए बमोजिमको सूचना उपलब्ध गराउन सूचना
अधिकारीलौ आदेश दिन सक्नेछ र त्यसरी आदेश भएमा सूचना अधिकारीले सम्बन्धित
निवेदकलाई सात दिन भित्र सूचना उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्रमुख समक्ष उजूरी दिंदा निवेदकको उजूरी उपर सात दिन भित्र कुनै कारवाही नभएमा सो म्याद नाघेको पन्ध्र दिन भित्र आयोग समक्ष निवेदन दिन सकिनेछ ।